काठमाडौं, ७ माघ । नेपाल भ्यालुयर्स एशोसिएशनद्वारा आयोजित दुई दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको होटल यात्रीमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी र छ वटै प्रदेशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शुभराम्भ केन्द्रिय समितीका अध्यक्ष ई. ऋषि कोइरालाले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्षहरु लक्ष्मण बाबु सेढाईँ, मुक्ति पाण्डे, सञ्जय कुमार महतो, जीवन अर्याल, महासचिव दिनेशकुमार पाठक, सदस्य प्रज्ञान घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए । ६ वटै प्रदेशका प्रतिनिधिहरुले पनि प्रदेशको हालको अवस्था र आगामी कार्यदिशाका सम्बन्धमा जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कोइरालाले प्रदेशका प्रतिनिधिहरुको सहभागितासहित अन्तरक्रियात्मक छलफल आयोजना गर्न पाएकोमा आफू अत्यन्त हर्षित भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे । उक्त अन्तरक्रियात्मक कार्यक्रममा संस्थालाई कसरी अझ सशक्त बनाउन सकिन्छ ? र सदस्यहरुको हक हितमा कसरी लागि पर्न सकिन्छ ? भन्ने विषयमा व्यापक छलफल भएको बताइएको छ ।